Nepali Stories

Comprehensive Collection of Nepali Stories (Katha) and Short Stories (Laghu Katha)

Taranath Sharma – Paris Ki Pokchi

April27
Number of View: 3054

ताना शर्मा – प्यारिसकी पोक्ची (बेलाइततिर बरालिंदा)

प्यारिस टेकेको तीन घण्टापछि सेन नदीको सौन्दर्यमा आफूलाई सम्पूर्ण रुपले हराएर रु दु पोएँ नेफ्को साँघुमाथि म उभिएको थिएँ। उत्ताउला न उत्ताउला रङ्ले ठाँटिएर कुर्सी भरिभरि बसेर कराइरहेका र रक्सीले टुन्न भइरहेका असङ्ख्य पर्यटकहरुलाई जिउभरि स्याउँ-स्याउँती सलबल्याउँदै ललामा यन्त्रचालित नाउहरु ममुनिबाट ओहोर-दोहोर गरिरहेका थिए। अल्छी पाराले म असंख्य मोटरहरु दगुरेको कुरालाई ध्यानै नदिएर पेटीपेटी उत्तर फर्किंदै गएँ। अकस्मात् मेरो देब्रेपट्टिका घरको कुनामा ‘के दु लुभ्र’ (Quai du Louver) लेखेको हेर्न मेरा आँकाहरु पुगेछन्। ‘लुभ्र’ भन्ने शब्द कता कता परिचित-परिचित जस्तो, प्रख्यात-प्रख्यात जस्तो, चिनेको-चिनेको जस्तो लाग्यो। मेरा खुट्टाहरु त्यतै बाङ्गिए।

म हिंड्दै गएँ, पेटीपेटी हिंड्दै गएँ। मोटरहरु मुटु थर्काउँदै दुगुरिरहे, दुगुरिरहे। निकै हिंडेपछि मेरो दाहिने हाततिर एमानको पुरानो घर देखा पर्यो जसका भित्तामा रिङगै तेर्सा र ठाडा फलामका घोचाहरु मरम्मत गर्ने मचानको रुपमा (Scaffolding) बाँधिएका थिए। पेटी ठाउँ-ठाउँमा भत्केको थियो र एक्कासि दुइटी अमेरिकाली केटीहरु उभिएर मच्ची-मच्ची बात मारिरहेका भेटिए।

अग्ली चाहिंले भनि, ‘लुभ्र दरबार यही त हो नि!’

अर्कीले थपी, ‘यतैबाट भित्र पसे पनि हुन्छ।’

सस्यानो फाटकबाट अनि म त्यस विशाल पाले दु लुभ्र (Palais du Louver) भित्र पसें।

भित्र विस्तृत चोक रहेछ र घुइँचो घुइँचो मान्छेहरु सलबलाइरहेका रहेछन्। एक फ्र्याङ्क तिरेर भित्र पसें। निर्देशनपत्र किन्ने सुद्दी नै रहेन। धेरै वर्ष फ्रान्स बस्ने हाम्रा प्रसिद्ध चित्रकार-साहित्यकार लैनसिंह बांगदेलको एउटा लेखको सम्झना गर्दै बौलाहा जस्तो खुड्किलाहरु चढ्दै जाँदा लुभ्रको एउटो कारिन्दो उभिइरहेको भेटें र हातले सोधें, ‘मोना लिजा?’

फ्रान्सेलीमा कुन्नि के जवाफ दिंदै उसले माथिल्लो तलातिर देखाएकाले त्यतै लागें।

भित्ताभरिभरिका फ्रेम लागेका रंगीन चित्रहरु अहिले नै बोलिहाल्लान् कि जस्तो लागेर मलाई हेरिरहेका थिए। नाङ्गा आइमाईहरु मन लोभ्याइरहेका थिए र भर्खरका फ्रान्सेली, स्पेनियाँ र अमेरिकाली ठिटीहरु सगरमाथा र मकालु तेर्स्याएर मलाई सशरीर ठेल्दै आफूतिर तानिरहेका थिए। तिनीहरुको न्यानो घोचाइमा चेप्टिए पनि धेरै धेरै बेरसम्म मेरा आँखा ती रनेसँस् कालका फोटो जस्तै चित्रहरुमा टाँसिइ नै रहे। तर कसो कसो म चेप्टिंदै गएछु र थाहै नपाई कोठाहरु छिचोलिंदै गएछन्।

हठात् मेरो अगाडि कोठाको सामुन्ने भित्ताको बीचमा हरियो अगाडि बढेको भित्तो खडा गरेर अति नै महत्व दिइएको एउटा सस्यानो पोक्ची आइमाईको चित्र केन्द्रभागमा मलाई नै पर्खेर बसिरहेकी आइपर्यो। त्यसका ओरिपरि मान्छेहरुको थुप्रो थुप्रो घुइँचो थियो।

एउटा पहेंलो सारी लाउने पच्चीस वर्षे तरुनी कम्मर नांगै पारेर कामुक कामुक बीच बेन्चमा बसेर त्यस पोक्चीतिर टोह्लाइरहेकी थिई। छातीमा सुन्तला लुकाएका फुचीहरु नांगै तिघ्रा पारेर त्यस पोक्चीको फोटो खिचिरहेका थिए।

एउटी पातली आइपुगी मलाई भुतुक्कै पार्दै। दूबो रङ्को खाँडीको कुर्ता र पातलो खयर रङको सुर्वाल र पछ्यौरा लगाएकी, कालो केश कैलिन लागेकोलाई पछाडि चपक्क छोडेर सिल्पटमा खुट्टा र आधा पाखुराहरुमा सेतसेतो मलाई मन पर्ने रङ देकाउँदै आँखाले भनी, ‘म पनि तिमीलाई मन पराउँछु।” तैंले मलाई अगुल्टे नै ठानिस् र मन पराइस् तर आज मलाई के भयो कुन्नि म तँलाई अगुल्टेनी जान्दा जान्दै पनि मन पराइरहेछु। ऊ एक्लै भएकी भए सके म बोल्थें हुँला तर ऊ एउटी अक्कासे कुर्ता र सेतो सुर्वाल लगाउने गरुडको जस्तो नाक र ज्यादै लामो मुखको दुलो भएकी केटी र एउटा केटासित थिई। उनीहरु पश्चिमे हिन्दीमा कुरा गरिरहेका थिए तर मेरी केटी भने मलाई मात्रै घरी घरी पुलुक पुलुक हेरिरहन्थी र कुरा कम बोल्थी।

गरुड भन्दै गई ‘दश लाख फ्र्याङ्कमा बिमा गरेको थियो यसलाई अम्रिका पठाउँदा!’

मेरी केटी मैतिर हेर्दै थिई। म मुस्काएँ। ऊ लाजले भुतुक्क भइ र पछ्यौीको छेउ टोक्न थाली।

पोक्ची रिसले चूर भई, काली न काली भई। त्यसपछाडिको खोलो धमिंलिंदै गयो, दुईतिरका जङ्गलका थुप्राहरु कालाम्मे भए।

केटीको जिउँदो मासु-रङ, आइमाई गह्नाउने पसीनाले पूर्ण काखी, लचक्क मर्किने बारुले कम्मर, दारिम दाँत र पानी-आँखा मलाई बित्याँस पारिरहेका थिए अनि पोक्चीको कालो पछ्यौरा र पोटिला एक-अर्कामाथि राखिएका हातहरु त्यसै त्यसै विवश विवश भएझैं प्रतीत भए। पहेंलो सारीले खुट्टा चलमलाई। पोक्ची केही मुस्काउन लागेको हो कि जस्तो कोमल र उदास आँखा लिएर देखा परी। उसका पोक्चे गालाहरु कुन्नि केले गर्दा हो रातिंदै आएको मैले अनुभव गरें।

यत्तिकैमा फ्रान्सेली फुचीहरुले मलाई सुन्तलै सुन्तलाले चेप्ट्याए। ‘कस्तो लाजसरम पचेका यी कुइरिनीहरु!’ ईर्ष्याको पल्लो टुंगोमा पुगेर युवकको हात किच्न पुगी गरुडनीले अनि घाँसरङे कुर्ता चाहिं हाँस जस्तै नितम्ब नचाएर मेरो आँखालाई घरी घरी आह्वानको काणले हिर्काउँदै आप्नो त्रिदलीय संस्थासितै नचाहँदा नचाहँदै पनि मबाट चोइटिएर गई।

बल्ल पोक्चीका आँखा प्रेमले रसाएर आए। जति हेर्दै गएँ उति नै धमिलो र घुर्मैलो रङ्की पोक्ची उघ्रिंदै र उज्यालिंदै आई। बीच-टाउकामा सिउँदो काढेकी, देब्रे पाटोतिर केही ढल्केकी, दाहिने हात देब्रे हातमाथि राखेकी पोक्ची सबै सन्तुलन ठ्याक्क मिलेकी घाँसरङ्गे कुर्ता जस्ती कृत्रिम तरुनी होइन। ऊ ता प्राकृतिक पो रहिछे, कुनै पनि आइमाई, साधारण आइमाई त्यस पोक्ची झैं हुन सक्छे। तर त्यो उदास उदास, मुस्काउन आँटे आँटेझैं, प्रेम देखाउन खोजे-खोजेझैं, केही हराएको-हराएको वा पाएको-पाएको झैं भावनाहरु मिश्रित पोक्ची झैं कुनै पनि आइमाईलाई सधैं नै पाउनु असम्भव कुरो हो। तर पोक्ची भने सधैं त्यस्तै छे छे। एउटो कुरो मलाई लाग्यो। सो के भने हरेक लोग्नेमान्छेले त्यस पोक्चीको भावप्रकाशनमा आफ्नै प्रेमिकाको चित्र देख्छ, सधैं उत्सुक-उत्सुक, खिन्न-खिन्न, असहाय-असहाय, अगाध-अगाध, मायाँलु-मायाँलु, ईर्ष्यालु-ईर्ष्यालु, खिसीपूर्ण-खिसीपूर्ण, रिसालु-रिसालु, दयालु-दयालु!

पोक्चीको जन्म सोह्रौं शताब्दीमा भएको थियो। उसका पिता लोओनार्दो दा भिन्ची इटालीका थिए तर फ्रान्समा उनको मृत्यु भएको थियो। उनको मृत्यु वास्तवमा पोक्चीले हुनै दिएकी छैन र हुन दिन्न पनि।

पोक्चीभन्दा धेरै नै झिलिमिली लुगा र गहना लाउने अनि सेतो छाला भएका चम्किला तरुनीहरु भित्ताभरि र भुइँभरि छरिइरहेका थिए। पहेंला सारी पनि अझैं टोह्लाइ नै रहेकी थिई तर म भने हजारौं माइल तय गर्न हिंडेको यात्री थिएँ र त्यसैले हृदयमा भक्कानु सह्मालेर प्यारी पोक्चीसित बिदा माग्दै थिएँ।

‘तिम्रो फोटो त हेर्न पाइहाल्छु नि जाँ गए पनि।’ नेपाली शब्दहरु मेरा कामिरहेका ओठबाट फ्यास्स फुस्किए।

आश्चर्यको कुरो के थियो भने मेरो वाक्य भुइँमा खसि नसक्तै ऊ एक्कासि कालाम्मिंदै आई, धुम्मिंदै आई। मेरी पोक्ची रोई। मनै भरंग भएर आयो।

म कला जान्दिनँ, चिन्दिनँ। चित्रकलाबारे मरी जाउँ केही थाहा छैन तर यो मोना लिजा जो उति राम्री आइमाई हुँदै होइन किन मन परी मलाई।

जबर्जस्ती पोक्चीको दृष्यबाट आफूलाई च्यातें र फटाफट बाहिरतिर हिंडे- पहेंलो सारीले मैलाई पो हेरिरहेकी रहिछे। अरु वेला भए त्यससित म चिनाजानी गर्ने थिएँ, तर अहिले त पोक्ची देवीबाट छुट्टिंदै थिएँ, छाती चसचस बिझिरहेको थियो।

पोक्ची देवी! सारा शरीर काम्यो। फर्केर हेरें – ऊ मैतिर टाढा हेरिरहेकी रहिछे। ऊ मतिर त्यति सारो एकोहोरिरहेकी थिई तर कोठाभरिका मान्छेहरु भने उसैतिर हेररहेका थिए। पोक्चीले पक्षपात गरेको पनि उनीहरु सहिरहेका थिए।

अरु कोठाहरुमा इजिप्ट जम्मै रित्त्याएर भेला पारेका चित्र र मूर्तिहरु, चिहानका ढुङ्गाहरु, मरेका ममी राख्ने मनुष्याकार काठ र ढुङ्गाहरु, भाँडाबर्तन, गरगहना हेर्दै जाँदा वाक्क भएँ। एक ठाउँ मणिरत्नजडित तर्वार र दामी गहना ऐनाभित्र राखेको थिएँ। त्यहीं लुई पन्ध्रौंको र अर्को राजाका रत्नहरु-जडित श्रीपेचहरु र टुप्पोमा चौकाठ (cross) भएको नेपोलिअनले लगाएको मामूली श्रीपेच रहेछन्। नेपोलिअनका हरियो रत्न भएको र अरु औंठीहरु हेरें र थाकेर हैरान भए पछि फर्कने सुरले हिंडें।

एक ठाउँमा दुई बन्दूकहरु रहेछन्। त्यहाँ साँच्चै नै ती बन्दूक राखेझैं लाग्यो र छेउमा गएर छुन खोज्या त तस्बीर पो रहेछ, चित्रकला पो रहेछ।

अनि हिंडें, हिंड्दै गएँ। कुनामा काफे रहेछ। एक पेप्सीकोला किनेर कुर्सीमा बसें। बसिमात्र सकेको थिएँ घाँस-रङ् दुईलाई तान्दै लजाएर आइपुगी। पछ्याउँदै रहिछे मलाई। मेरै छेउमा बसी ऊ। उनीहरुले कफी खाए क्यारे। ऊ थाकेजस्तो भई, बोल्दै बोलिन् गरुडनाके चाहिं अक्कास-पत्ताल जोडिरहेकी थिई। उनीहरुले अंग्रेजी बोलेर मागेको र कर्मचारीले फ्रान्सेली बोलेर जवाफ दिएको अति रमाइलो लाग्यो।

छेउमा ऊ पसीनै पसीना भई। केश फुकाली र चिम्टीले सँगाल्ने उपक्रममा छड्के हेर्न पाएर मतिर काण हिर्काउन थाली।

पोक्चीलाई बिहे गर्नु असम्भव र अक्कासे भएझैं यस नाउँ नभएकी सुन्दरीलाई पाउनू पनि उत्तिकै असम्भव लागेर आयो। हात हेरें मोरीका कलकलाउँदा थिएँ। खुट्टा हेरें, लाम्चा थिए। गाला रातिंदै थिए, आँखा पानी थिए काला धूपीका रूखहरुद्वारा घेरिएर। कम्मर कसिंदो मर्किंदो थियो, बटारिंदो थियो। यस्ती आइमाई पाए म जीवन धन्या मान्ने थिएँ। तर झल्याँस्स सम्झें – मेरा मुलुकमा पनि त युवतीहरु यसभन्दा कम छैनन्। आ मर् है तारा, जाँसुकै मर्।

जुरुक्क उठें र सरासर पोक्चीतिर गएँ। पहेंलो सारी अझै थिई र मतिर उत्सुक उत्सुक हेर्दै मुस्काई। म त्यसलाई हेर्न आएको थिइनँ।

एउटी आइमाई फ्रान्सेली उच्चारणको अंग्रेजीमा पोक्चीलाई धुरीमा उचाल्दै थिई। थुप्रो थुप्रो उसको दलका मान्छेहरु ध्यानमग्न भएर सुनिरहेका थिए। बयान सुनिसकेपछि मैले पोक्चीलाई निकै बेर हेरें लाटाले पापा हेरेझैं। हाँसिरही। जान्छु भनें, मुस्काइरही, ट्वाल्ट्वालती हेरिरही। बोलिन।

ऊ मैतिर नै हेरिरहेकी थिई। ती मायाँलु आँखालाई कसरी बिर्सनु मैले? ती उदास आँखालाई कसरी मनबाट हटाउनु मैले? ती रुन्चे मुस्कानले टुलटुल हेरिरहने बल्ययाङ्ग्रे आँखालाई हृदयबाट कसरी हुत्त्याउनु मैले?

म गएपछि पनि मैतिर हेरिरहली ऊ, बाटो मेरै हेरिरहली ऊ। म मरें भने पनि उसले मेरो बाटो हेर्न छोड्नेछैन। कस्ती विश्वासपात्र? कति उत्सुक? कति मायाँलु? के कुनी युवती यस्ती विश्वासपात्र, उत्सुक र मायाँलु हुन सक्ली? आफ्नै हिजो सम्झें। छाती चिरिएर आयो।

हतार हतार हिजोलाई बलैले विस्मृतिको हाब्रोलाई निलिदिएँ अनि आँखाभरि-भरि हेरिरहें प्यारी पोक्चीलाई। सुन्तलेहरुले ठेलेर पोक्चीको बित्तो बारेको डोरी छोए। रक्षकहरुले फ्रान्सेलीमा केके भन्दै तिनलाई पछि हटाए। त्यस्तो ध्यान भङ्ग पार्दा पनि पोक्चीले डोरीतिर हेरिन, पटक्कै हेरिन, मैतिर एकोहोरो हेरिरही, हेरिरही।

प्रेम यस्तै अटल हुनुपर्छ, मायाँ यस्तै एकोहोरे र अमर हुनुपर्छ।

आँखा हामी दुवैका रसाएर आए! जेसुकै जोसुकैले भनोस्। मलाई कसले चिन्छ र याँ? रोएँ, तरर्र आँसु चुहियो।

अनि धमिला आँखाले मायाँलु पोक्चीलाई नमस्कार गरें र हुँडलिएको ह्याकुलोभित्र उखर्माउलोसित उफ्रिरहेको मुटुलाई मिच्तै अन्धाधुन्ध सेनतर्फ लागें।

[ग्राँदोतेल् द शाँपाइन्
१७, जाँ लाँतिए
पारो
१ जुलाई १९६३]

‘बेलाइततिर बरालिंदा’बाट
(साझा प्रकाशन)

Related Articles:


    Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Future plan includes Open Source Software Development Portal, Technical Solutions and Customizable Movie and Music Arena. We would be introducing data backup, data recovery, data hosting and voip solutions. Complete List of Sanjaal features is available at:
    http://corporate.sanjaal.com/features.php

    Share
    Sanjaal Home | Stories Home | Other Stories In Category: Taranath Sharma

    You might also like to read the following Nepali Stories:
    Your Ad Here

    Email will not be published

    Website example

    Your Comment:

     


    Stories By Authors


    Content Protected Using Blog Protector By: PcDrome.