Narayan Tiwari – Fuchche Robot
नारायण तिवारी – फुच्चे रोबोट
(मुना २०६६ असोज)
जाडोको महिना । सात बजेको छ । गर्मीको महिना हुँदो हो त सात बज्दा उज्यालै हुन्थ्यो । अहिले त सात बज्दा मध्यराति जस्तो । त्यसमाथि सुमन घरमा एक्लै छ । आमा मामा घर जानुभएको छ । बाबा अफिस । अफिसबाट घर आउन जहिल्यै ढिलो ।
”के गर्नु, काम नसकी हिँड्नै मिल्दैन ।” बाबा भन्नुहुन्छ ।
सुमनको बाबा बैंकमा काम गर्नुहुन्छ । नगद विभागमा । सबै कारोबार सकिसकेपछि, रुपियाँ पैसा थन्काइसकेपछि खजाञ्ची सरलाई चाबी बुझाएर मात्र उसको बाबाले छुट्टी पाउनु हुन्छ अरे । अफिस छुट्ने ५ बजे हो तर आˆनो जिम्माको काम पूरा गर्दागर्दै कहिले ६, कहिले ७, त कहिले ८ बज्छ अरे ! फेरि अफिस छुटेर घर आइपुग्न एकघण्टा लाग्छ बाबालाई । आमा पनि अफिसमा काम गर्नुहुन्छ । हुलाक अफिसमा । त्यो त बाबाको जत्ति टाढा छैन । आमा छिटै घर आउनुहुन्छ । अहिले त मामाघर मधेसमा जानुभएको छ आमा । छिटै आउँछु भन्नु भएर पनि सात दिन भइसक्यो आउनुभएको छैन । सुमनले पनि मामा घर जान जिद्दी गरेको थियो । उसको स्कुल लागिरहेकोले बाबाले फकाउनुभयो । आमाले पनि ‘छिटै आउँछु, जुत्ता किनिदिन्छु’ भनेर फकाउनुभयो । उसको स्कुल जाँदा लगाउनेबाहेक बाहिर जाँदा लगाउने राम्रो जुत्ता थिएन । त्यसको लोभमा परेर ऊ चुप लागेको थियो ।
तर बाबा घर आउन ढिला भएर, राति हुँदा उसलाई बेकार आˆनो जिद्दी छोडेको भनेर पछुताऊ भइरहेथ्यो । कि त आमालाई पनि नजान दिनु पथ्र्यो । चकमन्न रातमा बुद्रुक्क मुसा उपि|mँदा पनि ऊ डराउँथ्यो । चोर आयो कि, भूत आयो कि…! चोर त हुन्छ तर भूत हुँदैन भन्ने उसलाई थाहा थियो तर पनि डर त लागिहाल्थ्यो ।
”ढोका राम्ररी लगाउनु के को डर ! पढ्ने छोरा भएर पनि डराउने ?” बाबा उसलाई ढाडस दिनुहुन्थ्यो ।
”भूत त हुँदैहुँदैन तर चोर आयो भने जोड-जोडले कराउनु । वरिपरिका मान्छे आइहाल्छन् नि, के को डर !” बाबा सम्झाइरहनु हुन्थ्यो ।
सोच्दासोच्दै सुमन निदायो । त्यसैबेला उसले एउटा ऊभन्दा सानो मान्छेलाई देख्यो । उसलाई उठाउँदै त्यो सानो फुच्चेले भन्यो- ”सुमन, किन डराउँछौ ? नडराऊ । म छु तिम्रो साथी । अब पीर नगर । तिम्रो बुबा जति ढिलो आए पनि अब केही फरक पर्दैन । यी लेऊ यो फूल तिमीलाई…।”
त्यो फुच्चे मान्छेको हातमा फूल थियो । सुमनले लम्केर त्यो फूल लियो ।
सुमनलाई त्यो मानिस आफूभन्दा अलिक भिन्न लागिरहेको थियो । ”तिम्रो नाम के हो ?” सुमनले नयाँ अनौठो साथी पाएकोमा केही झस्केर, केही रमाएर सोध्यो ।
”मेरो नाम ‘फुच्चे रोबोट’ हो । म तिमीभन्दा अलिक भिन्न छु । मलाई भात खानु पर्दैन । सुत्नु पर्दैन । दिसा-पिसाब गर्नु पर्दैन तर बलियो छु । मसित तिमीहरू जस्ता पचासौँ जना एकैपल्ट हार्छन् । ठूला मानिसहरूले पनि मलाई जित्न सक्दैनन् । मलाई चलाउन भने जान्नुपर्छ । लु लेऊ यो मलाई चलाउने स्वीच । यसलाई बुझेर थिच्नु । थुप्रै स्वीचहरू छन्…!” त्यसपछि फुच्चे रोबोटले पालैपालो कुन स्वीच थिच्दा उसले के गर्छ, कुन स्वीच थिच्दा कुन आदेश पालन गर्छ- सबै बतायो । त्यो सबै थाहा पाइसके पछि सुमन धेरै खुसी भयो । अब ऊ ढुक्क पनि भयो । जब फुच्चे रोबोट नै उसको साथी भयो भने उसलाई अब केको डर, कोसित डर ?
”अब तिमी मज्जाले सुत । म तिम्रो सुरक्षामा जाग्छु ।” फुच्चे रोबोटले भन्यो । फुच्चे रोबोटलाई धन्यवाद भन्दै ऊ सिरक ओढेर सुत्यो र एकैछिनमा भुसुक्क निदाई पनि हाल्यो ।
”डर लाग्यो भने ढोका थुनेर सुत्नु !” बाबाले भनेको सम्झिन्थ्यो तर उसले जति निदाउन खोज्दा पनि निद्रा लाग्दैनथ्यो तर फुच्चे रोबोटले भन्नासाथ ऊ मस्तसित सुत्यो । निदाएपछि उसले सपनामा देख्यो- उसको घरमा चोर आएको रहेछ तर फुच्चे रोबोटले त्यस चोरलाई समातेर सिक्रीले बाँधेर राखिदिएछ । उसको बाबा राति अबेर घर आउँदा बाबालाई पनि चोर ठानेर फुच्चे रोबोटले सिक्रीले बाँधी दिएछ ।
त्यसैबेला जोड-जोडले ढोका ढक्ढक्याएको आवाज आयो ।
”सुमन ! सुमन !! के गर्दैछस् छिटो ढोका खोल्…!” उसको बाबा कराइरहनुभएको थियो । ऊ आँखा मिच्दै उठ्यो र हतार-हतार ढोका खोल्न पुग्यो । उसले ढोका खोलिदिएपछि बाबा भित्र पस्नु भयो र ढोका फेरि लगाइदिनु भयो ।
अचानक ऊ झस्कियो- खै फुच्चे रोबोट ? अरे, बाबालाई त फुच्चेले चोर ठानेर सिक्रीले बाँधिदिएको होइन…..?
”बाबा ! मेरो साथी फुच्चे रोबोट…!” ऊ अकमकाउँदै बोल्यो ।
”के भन्छ यो ? ल्याइदिउँला नि तँलाई खेलौना फुच्चे रोबोट…!”
”होइन, होइन ! अहिले यहीँ थियो मेरो साथी फुच्चे रोबोट !”
”सपना देखिस् कि क्या हो…!” सुमनको बाबा हाँस्दै भान्सा कोठातिर पस्नु भयो ।
अहिले भने ऊ पूरै छ्याङ्ग भयो । फुच्चे रोबोट त उसको सपनामा पो आएको रहेछ ।
जेहोस् उसले सोच्यो- ऊ पनि यस्तै, उसको सपनामा आएको जस्तै बलियो सुरक्षा दिने रोबोट बनाउने छ ठूलो भएपछि, धेरै पढेपछि । र, मानिसहरूलाई चोरहरूबाट बचाउने छ…!
ऊ सोचिरहेको थियो । र, उसको बाबा उसलाई भनिरहनुभएको थियो- ”नसुत है, छिट्टै भात पाकिहाल्छ, भात खाएर मात्र सुत्नुपर्छ…!”
Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Future plan includes Open Source Software Development Portal, Technical Solutions and Customizable Movie and Music Arena. We would be introducing data backup, data recovery, data hosting and voip solutions. Complete List of Sanjaal features is available at:
http://corporate.sanjaal.com/features.php