Nepali Stories

Comprehensive Collection of Nepali Stories (Katha) and Short Stories (Laghu Katha)

Kumud Adhikari – Tin Katha Tin Patra

March21

कुमुद अधिकारी – तीन कथा-तीन पात्र
(साहित्य सरिता)

कथा एकः पात्र एक

कट्……..कट्…………कट्………उफ् ! फेरि बज्न थाल्यो पल्लो कोठाको खाट। यो खाटबजाइ पनि खै ! कुनै समयमा यो खाटबजाइ मेरा लागि आनन्द र लाजको कारक हुने गर्थ्यो तर के गर्नु खै, अहिले त यसले पीडामात्र दिइरहन्छ। कट्…..कट्…. उफ् ! म सहनै सक्तिनँ र बरन्डामा निस्कन्छु। बाहिर जुनेली रात रहेछ। चन्द्रमा ! आहा ! यो चन्द्रमा त मेरो चिरकालको साथी। अब त यही चन्द्रमा त रह्यो नि आफ्नो भन्ने ! चन्द्रलाई त निशाले लगिहाली नि।

पूर्णिमाको चन्द्रमालाई देखाउँदै चन्द्र भन्ने गर्थे – “थाहा छ आभा ! चन्द्रमाको यो शीतलताले हाम्रो सम्बन्धलाई चिरस्थायी बनाउनेछ।”

मलाई शङ्का लाग्थ्यो – “चिसो सम्बन्ध अनि चिरस्थायी ? कस्तो कुरा गरेको ?” मनमा साँच्चै चिसो पस्थ्यो।

उनी भन्थे – “धत् लाटी ! त्यो भनेको हो त ! शीतलता र चिसोपनाको फरक पनि थाहा छैन ? शीतलता जहिले पनि सुखदायी हुन्छ र चिसोपना जहिले पनि दुःखदायी। शीतलता कहिल्यै चिसो हुनै सक्तैन, यदि भयो भने त्यो शीतलता नै होइन।” खोइ ! कति बुझेँ कोनि मैले चन्द्रको कुरा ! त्यति धेरै त म त्यस्ता कुरा बुझ्दिनँ।
म फेरि भित्र पसेँ। बाहिर सिरेटोले हानेझैँ भयो। बत्ती बालेर पुनः त्यही खाटमा पल्टिएँ जुन चन्द्र र मैले पचास वर्षसम्म प्रयोग गरेका थियौँ। बिहे गरेको पचास वर्षपछि म एक्लिएकी छु। पल्टिँदा देखेँ अगाडि भित्तामा हाम्रो जीर्ण भइसकेको बिहेको माला उदास झुन्डिरहेको थियो। बिचरा दुबो न हो, ओइलाएर चाउरी परिसकेको छ। तैपनि मालाका बीचमा राखिएको हाम्रो ब्ल्याक एन्ड ह्वाइट फोटाको आभाले मलाई आलोकित बनाइरहेका छन्।

यो फोटो खिच्दा म कति साह्रो लाजले खुम्चिएकी थिएँ भन्ने साध्ये नै छैन। भर्खरकी बेहुली सोह्र वर्षकी। सम्बन्धदेखि लिएर घरबार, सरसामान, आफन्तहरू, साइनो सबै नितान्त नयाँ। खाट पनि नयाँ। बिहेअघि कहिल्यै खाट साझा नगरेकी मलाई निकै अफ्ठ्यारो लाग्यो तर मेरा कल्पनाका राजकुमारभन्दा पनि राम्रा र बलिष्ठ चन्द्रका बाहुपासमा बाँधिएर एउटै खाटमा सँगै सुत्दा मेरो आनन्दको सीमा रहेन। अठारै वर्षमा पनि परिपक्वताको झलक दिने मेरा श्रीमान् चन्द्रको देहका अङ्गहरूको ओज र शक्ति देखेर म छक्कै परेकी थिएँ। मेरा विवाहित साथीहरूको बयानभन्दा सयौँ गुणा उत्कृष्ट थिए मेरा चन्द्रका ओजयुक्त अङ्गहरू। मेरो त कुरा के गर्नु ! दैहिक सुख लिनेमा सायद म जति भाग्यमानी कोही थिएन।

यसरी सुखभोग गरेको पनि वर्षौँ बित्यो। बिहे गरेको वर्ष दिनभित्रै हामीलाई पुत्रप्राप्ति भयो। छोराको जन्मबाट मेरा शरीरमा अझै राम्रा परिवर्तनहरू भएको कुरा चन्द्रले बताउनुहुन्थ्यो। छोराको जन्मपछि पनि वर्षौँसम्म उहाँको र मेरो दैहिक सुखभोगाइमा रत्तिभर कमी आएन। अझ हामी प्रयोगवादी भएर आनन्दको लूट गर्नमै व्यस्त रह्यौँ। यसरी जिन्दगीको किताबका सुखद पानाहरू पढ्दापढ्दै करिब दस वर्षअगाडि एक दिन मलाई चस्स पेट दुखेको थियो । तल्लो पेट। दुख्यो, हरायो। चन्द्रले बेकार सुर्ता गर्नुहोला भनेर मैले उहाँलाई सुनाइनँ। तर दुखाइको क्रम बढ़ेपछि मैले सुनाउन करै लाग्यो। लाग्न थाल्यो म असमर्थ हुँदै छु, चन्द्रले भनेझैँ ममा कतै चिसो त पसेन ?

मेरो कुरो सुनेर चिन्तित चन्द्रले भन्नुभएको थियो- “आभा ! तिमीले पहिले नै भन्नुपर्थ्यो। ल हिँड ! हिँडिहालौँ स्त्रीरोग-विशेषज्ञकहाँ।”
त्यसपछि हामी विराटनगरस्थित स्त्रीरोग विशेषज्ञ शोभा श्रेष्ठकहाँ गएका थियौँ। अनेक किसिमका परीक्षणपश्चात् शोभा श्रेष्ठको घोषणाले हामी छाँगाबाट खसेका थियौँ। उहाँले भन्नुभयो- “हेर्नुस् आभा ! तपाईँको पाठेघरमा ट्युमर छ, त्यो पनि म्यालिग्न्यान्ट ! जति छिटो फ्याल्यो त्यति नै राम्रो। ढिलो गर्दा तपाईँको ज्यानलाई नै खतरा छ। राम्ररी बुझिराख्‍नुहोस् !”

मैले चन्द्रका अनुहारमा पुलुक्क हेरेँ।उहाँको त्यस्तो पीडैपीडाले भरिएको अनुहार कहिल्यै देखेकी थिइनँ। मेरो मनमा आफ्नो रोगले भन्दा पनि बढी पीडा चन्द्रको अनुहारले दिएको थियो।

करिब पाँच वर्षअघि मेरो पाठेघरसहितको ट्युमर मिल्काएर हामी यही कोठामा छिरेका थियौँ। त्यसपछिको समय निकै पीडादायक रह्यो। म साँच्चै चिसिएकी थिएँ। मलाई त चन्द्रका तिनै बलिष्ठ र ओजयुक्त अङ्गहरूले पिरोल्न थाले। ती अङ्गहरू हेर्दा तिनमा समयको हदले केही पनि असर नपारेका जस्ता देखिन्थे। चन्द्र सत्तरी वर्षको उमेरमा पनि बीसबर्षे जोस राख्‍नुहुन्थ्यो। यही गर्वको कुराले मलाई साह्रै पिरोल्न थाल्यो। उहाँ चुपचाप मेरा छेउमा आएर सुत्‍नुहुन्थ्यो। उहाँको मुखबाट कहिल्यै खुइ निस्केको थाहा पाइनँ। लाग्यो मेरो अङ्गहीनतालाई उहाँले आत्मसात् गर्नुभएको छ। मलाई चिसिएकै रूपमा स्वीकार गर्नुभएको छ। तर उहाँको देहले उहाँको मनलाई कहिल्यै साथ दिएन। छेउमा सुतेका चन्द्रका अङ्गहरूको शक्ति म जहिले पनि अनुभव गर्दथेँ। मलाई लाग्यो अब यो शक्तिको निकास जरुरी छ। समयको यत्रो अन्तरालमा हाम्रो परिवार बढेर ठूलै भइसकेको थियो। हामीमाझ अब छोरो, बुहारी, दुई जवान नाति र एउटी तरुणी नातिनी थियौँ। यस बेला हजुरबा चन्द्रलाई बिहे गर्नु भन्नु भनेको सामाजिक हाँसो र लाजको कुरो हुन्थ्यो तर के गर्नु उहाँको छटपटी म देख्‍नै नसक्ने भइसकेकी थिएँ। त्यसैले एक दिन चन्द्रलाई भनेँ – “हेर्नुस् चन्द्र ! यसरी कति दिन चल्छ ? तपाईँ अब बिहे गर्नुस्। म तपाईँको यो पीडा देख्‍न सक्तिनँ।” त्यसपछि तीनछक्क परेका चन्द्रलाई मैले अङ्कमाल गरेँ र सम्झाउन थालेँ किन उहाँले समाजको हेला खपेरै भए पनि बिहे गर्नुपर्छ भनेर।
चन्द्रको दोस्रो बिहे भएको वा उहाँले मलाई सौता हालेको पनि अब पाँच वर्ष बितिसकेछ। अहिले चन्द्र र निशाको कोठा पल्लोपट्टि छ। कट्….कट्….. फेरि खाट बज्न थाल्यो। ….. उफ् ….. अब जे होस् मैले यो खाटबजाइलाई सहज रूपमा लिनै पर्नेभयो, आत्मसात् गर्नेपर्ने भयो…. मेरा चन्द्रकै लागि भए पनि। उसो त चन्द्र हप्तामा तीन दिन मैसित सुत्‍नुहुन्छ तैपनि बाँकी रहेका तीन रातहरू बिताउन मलाई साह्रै गाह्रो पर्छ। के गर्नु पचास वर्षदेखिको बानी हो सधैँ सँगै सुत्‍ने।

कट्…..कट्…..कट्…. पल्लो कोठाको खाटसँगै चन्द्रलाई आफूछेउमा सम्झेर निदाउने कोसिस गर्न लागेँ।
—-

कथा दुईः पात्र दुई

कट्….कट्…..कट्….. उफ् ! फेरि बज्न थाल्यो यो खाट। हरे ! पल्लो कोठामा आभालाई कति गाह्रो परिसक्यो होला। यो खाट पनि खै ! कुनै समयमा यो खाटबजाइ आनन्द र खुसीको कारक हुने गर्थ्यो, तर के गर्नु खै अचेल त शारीरिक ऊर्जाको निक्षेपण गर्ने माध्यम भएको छ। कट्… कट्… कट्….! ऊ, ढोका उघ्र्यो ! आभा बाहिर निस्किइन् होला। बाहिर त जुनेली रात छ। चन्द्रमा ! आभाले चन्द्रमा हेरेर मेरो साथी त अब यो चन्द्रमा ने त रह्यो भन्ने सोचिरहेकी होलिन्। उनको चन्द्रलाई अहिले त निशाले निलेकी न छ। हो ! निशा र म एकाकार छौँ तर म रत्तिभर पनि आभाबाट अलग हुन सकिरहेको छैन।
पूर्णिमाको चन्द्रमालाई देखाउँदै म भन्ने गर्थेँ- ” थाहा छ आभा ! चन्द्रमाको यस शीतलताले हाम्रो सम्बन्धलाई चिरस्थायी बनाउनेछ।”
उनी सशङ्कित हुन्थिन्- ” चिसो सम्बन्ध अनि चिरस्थायी ? कस्तो कुरा गरेको ?” सायद उनीभित्र चिसो पस्थ्यो।
फेरि प्रस्ट्याउँथेँ- “धत् लाटी ! त्यो भनेको हो त ! शीतलता र चिसोपनाको फरक पनि थाहा छैन ? शीतलता जहिले पनि सुखदायी हुन्छ र चिसोपना जहिले पनि दुखदायी। शीतलता कहिल्यै चिसो हुनै सक्तैन, यदि भयो भने त्यो शीतलता नै होइन।” खोइ कति बुझिन् उनले मैले अन्दाज गर्न सकिनँ, थाहा छ मलाई कुरा बुझ्ने क्षमता नितान्त व्यक्तिगत हुन्छ।

म निशासँगै छु।दैलो फेरि बज्यो। सायद आभा भित्र पसिन होला। बाहिर सिरेटो चलेको छ। म पनि निशाका छेउमा पल्टन्छु। एक पटकलाई मेरो ऊर्जा निशामा खन्याएपछि म केही शिथिलझैँ भएको छु। बत्ती बाल्छु र छेउकी निशालाई हेर्छु। उनी आँखा चिम्लिएर पल्टिएकी छिन्। गजबको सौन्दर्य र दीप्ति छ निशाको अनुहारमा। शरीर पनि उस्तै राम्रो। तर किन हो निशा र म एकाकार हुँदा उनी कहिल्यै मलाई हेर्दिनन्। सायद उनको विगतले सताउँदो हो। खै किन हो म निशामा पनि आभाकै छवि देख्छु। सायद निशाको पनि त्यस्तै विवशता होला। म उत्तानो भएर पल्टिन्छु र मेरा आँखाहरू पर्छन् भित्तामा झुन्ड्याएर राखेको फ्रेमजडित बिहेको मालामा। तर यो माला मेरो-आभाको नभएर निशाको पहिलो विवाहको हो। खै जीवन पनि कस्तो हो ! जीवनभोगाइका आफ्नै रङहरू हुन्छन्। मैले निशाको जीवनलाई सम्मान गरेँ र त्यो माला उनीसँगै यहाँ यस कोठामा भित्रियो।

त्यस्तै माला छ हाम्रो पल्लो कोठामा र मालाभित्र मेरो र आभाको ब्ल्याक एन्ड ह्वाइट फोटो छ। मलाई राम्ररी थाहा छ त्यो फोटो खिच्दा सोह्र वर्षकी आभा लाजले निकै खुम्चिएकी थिइन्। उनको अपूर्व सौन्दर्य देखेर र पाएर म इन्द्रले मेनका पाएझैँ पुलकित भएको थिएँ। आहा ! यस्तो शारीरिक सुगठन ! अङ्गहरूको समानुपात ! म त कल्पनैले मात्र उफ्रेर स्वर्गमा पुग्थेँ – कल्पना हाम्रो मिलनको। कल्पना हाम्रो खाटको र त्यही आवाजको। मेरा विवाहित साथीहरूको बयानभन्दा सयौँ गुणा उत्कृष्ट थिए मेरी आभाका अङ्गहरू। मेरो त के कुरा गर्नु ! दैहिक सुख लिनमा सायद मजति भाग्यमानी अरू कोही थिएन।

यसरी सुखभोग गरेको पनि वर्षौँ बित्यो। बिहे गरेको वर्ष दिनपछि हामीलाई पुत्र प्राप्त भयो। छोराको जन्मपछि आभाको शरीरमा अझै राम्रा परिवर्तनहरू आएको मैले पाएँ। उनको शरीरमा थपिएको मातृत्वको ओजले छोराको जन्मको वर्षौँ पछिसम्म पनि उनको र मेरो दैहिक सुखभोगमा रत्तिभर कमी आएन। अझ हामी प्रयोगवादी भएर भएभरको आनन्द लूट गर्नतर्फ लाग्यौँ। जिन्दगीका सुखद पानाहरू पल्टाउँदा-पल्टाउँदै करिब दस वर्षअगाडि आभाले आफ्नो तल्लो पेट दुखेको कुरा गरिन्। केही दिन देखि उनको आभामा कमी त महसुस गरेको थिएँ मैले। केही लुकाएझैँ लाग्यो आभाले। मलाई दुःख लाग्छ भनेर लुकाएको पनि हुन सक्छ उनले। स्वभावै त्यस्तै छ उनको, दुःखजति लुकाएर सुखका पोकाहरू मात्र खोल्ने।

सुनेर म चिन्तित भएको थिएँ। र भनेको थिएँ- “आभा ! तिमीले पहिले नै भन्नुपर्थ्यो। ल हिँड ! हिँडिहालौँ स्त्रीरोग-विशेषज्ञकहाँ।”

त्यसपछि हामी विराटनगरस्थित स्त्रीरोग विशेषज्ञ शोभा श्रेष्ठकहाँ गएका थियौँ। अनेक किसिमका परीक्षणपश्चात् शोभा श्रेष्ठको घोषणाले हामी छाँगाबाट खसेका थियौँ। उहाँले भन्नुभयो- “हेर्नुस् आभा ! तपाईँको पाठेघरमा ट्युमर छ, त्यो पनि म्यालिग्न्यान्ट ! जति छिटो फ्याल्यो त्यति नै राम्रो। ढिलो गर्दा तपाईँको ज्यानलाई नै खतरा छ। राम्ररी बुझिराख्‍नुहोस् !”

आभाले मेरो अनुहार पुलुक्क हेरिन्। पीडैपीडाले भरिएको उनको अनुहारले मेरो अनुहारमा पनि पीडाकै थुप्रो देख्यो।

करिब पाँच वर्षअघि हामी आभाको पाठेघर मिल्काएर त्यही कोठामा छिरेका थियौँ। त्यसपछिको समय हामी दुवैका लागि पीडादायक रह्यो। उनी असमर्थ भइसकेकी थिइन्। उनको शारीरिक सुगठन पनि बिरामीले गर्दा ओइलिइसकेको थियो। म के गरूँ ? मेरो सत्तरी वर्षको बूढो शरीर पनि बीसबर्षे युवकको जस्तो जोस देखाउँछ। के गर्नु यस्तो शरीर पाएकामा गर्व गर्नुपर्ने ठाउँमा यही शरीर मलाई घाँडोजस्तो भएको थियो। मेरो शारीरिक ऊर्जा खन्याउने ठाउँ सुकिसकेको थियो। तर पनि मैले आभालाई कहिल्यै पीर गरिनँ। म शिथल भएर पनि, भित्रभित्रै उम्लिएर पनि आभाका छेउमा सुत्दा खुइय् गरिनँ।मैले सायद उनको अङ्गहीनतालाई आत्मसात् गर्न खोजिरहेको थिएँ। तर के गर्नु मेरो देहले मेरो मनलाई कहिल्यै साथ दिएन। मलाई शङ्का लाग्यो कतै मेरा अङ्गहरूको शक्ति र छटपटाहट कतै आभाले त अनुभव गरिरहेकी छैनन् ? र एक दिन दुई जवान नाति र एउटी तरुणी नातिनीकी हजुरआमाले म हजुरबालाई भनिन्- “हेर्नुस् चन्द्र ! यसरी कति दिन चल्छ ? तपाईँ अब बिहे गर्नुस्। म तपाईँको यो पीडा देख्‍न सक्तिनँ।” त्यसपछि तीनछक्क परेको मलाई उनले अङ्कमाल गरिन् र सम्झाउन थालिन् किन मैले समाजको हेला खपेरै भए पनि बिहे गर्नुपर्छ भनेर।

मेरो दोस्रो बिहे भएको वा मैले आभालाई सौता हालेको पनि पाँच वर्ष बितिसकेछ। अहिले मेरो र निशाको कोठा यो छ। म यसो निशालाई हेर्छु। उनी मतिर एकपल्ट हेरेर निःस्पृह भावले उता फर्किन्छिन्। उनको निःस्पृहताले मलाई फरक पारे पनि मेरो ज्याद्रो शरीरलाई केही फरक पार्दैन। शारीरिक ऊर्जाको निकास त खोज्नै पर्‍यो। कट्…..कट्…. सायद आभाले यो बजाइलाई आत्मसात् गर्ने कोसिस गर्दै होलिन्। उनी मेरा लागि जे गर्न पनि तयार छिन्। म पनि त निशासँग हुँदा पनि उनैसँग जोडिन पुग्छु। उसो त हप्तामा तीन रात म उनीसितै सुत्छु तर के गर्नु यो शरीरको शक्तिले तीन रात मलाई निशासँग सुताउँछ। आभासँगै सुतेको पचास वर्षको बानी न हो। एउटा पूरै जिन्दगी। जीवन जिउने एउटा तरिका।

कट्… कट्…. कट्…. उफ ! यो खाट फेरि बज्यो ! पल्लो कोठामा सायद आभा मलाई छेउमा सम्झेर निदाउने कोसिस पो गर्दै होलिन्…….।

कथा तीनः पात्र तीन

कट्… कट्… कट्… उफ ! फेरि बज्न थाल्यो यो खाट। हरे ! कुनै समय यो खाटबजाइ मेरा लागि आनन्द र लाजको कारक हुने गर्थ्यो तर अहिले विवशता पोख्‍ने ठाउँ भएको छ। पुरुषप्रधान समाजबाट अपहेलित एउटी आइमाई आफ्नो दोस्रो बिहेपछि विवशताबाहेक अरू के नै प्रकट गर्न सक्छे र? उसका सम्पूर्ण उत्साह, खुसी र आनन्द त पहिलो विवाहको असफलताले नै अँध्यारो खाडलमा हालिसकेका हुन्छन्। मसित अहिले चन्द्र हुनुहुन्छ र यो खाट यसरी बजिरहेको छ। म जति कोसिस गरे पनि उहाँप्रति समर्पित हुन सक्तिनँ। उहाँले मेरो शरीर भोगे पनि मेरो मनलाई केही गर्न सक्नुहुन्न। मेरो मनले नै मान्दैन मेरो शरीरलाई साथ दिन। त्यसैले म उहाँलाई खल्लो नहोस् भनेर आँखा चिम्लेर साथ दिन्छु वा भनौँ मेरो शरीरले साथ दिन्छ। मेरो निःस्पृहतालाई चन्द्रले सायद याद गर्नुभएको होला। तर खै केही भन्नुहुन्न। मेरो विवशताले मलाई चन्द्रसम्म ल्याइपुर्‍यायो। म अलिकति पनि आत्मनिर्भर भएको भए, मेरा बाबुआमाले मलाई स्वावलम्बी हुन सिकाएको भए मैले यसरी शरीर र मनलाई अलग पारेर बाँचिरहनुपर्ने थिएन। मैले चन्द्र र आभाका बीचमा पस्नुपर्ने थिएन।

केही क्षणलाई आँखा खोलेर पुलुक्क हेरेँ- भेन्टिलेसनबाट पूर्णचन्द्रको एउटा अंश देखियो। यो पनि गजब कै संयोग मान्नुपर्छ। चन्द्रमाको उज्यालो, पूर्णचन्द्र र त्यसको आभा चन्द्र, आभा र मलाई उत्तिकै मन पर्छन्। मैले चन्द्रकहाँ आईकन एउटा थप कुरा के जानेँ भने चन्द्रमाको उज्यालोले सबैलाई सधैँ सुख मात्र दिँदो रहेनछ। यसले दिने उज्यालोले विशेष मलाई र आभालाई पीर गर्छ। खै चन्द्रचाहिँ कत्तिको प्रभावित हुनुहुन्छ। शारीरिक सुखलाई मनबाट अलग्ग पारेर हेर्ने सामाजिक परिपाटीमा हुर्केका पुरुष न हुनुभयो उहाँ पनि। सायद त्यसको मिल्दो व्याख्या होला उहाँसँग।

सोह्र वर्षअगाडि मेरो बिहे विमलसँग हुँदा पनि चन्द्रमासँग, विशेष पूर्णिमाको चन्द्रमासँग थुप्रै सपनाहरू थिए मसँग। तर विमललाई राती बाहिर निस्कन पटक्कै मन नलाग्ने। म सोच्थेँ – हामी दुई पनि कोठा बाहिर निस्कौँ। म पलेटी कसेर बसूँ। मेरा काखमा विमलको शिर होस् र म उहाँको कपाल सुमसुम्याइरहूँ। पूर्णिमाको चन्द्रमाले हामीलाई भिजाओस् र हामी प्रेमालाप गरिरहौँ। तर सपना र विपनामा फरक त हुँदो नै रहेछ। तैपनि दुईजना पात्र भएको सपना। सपनाको एउटा पात्र त आफ्नो नियन्त्रणमा हुन्छ तर अर्को ? अर्को पात्रको पनि सपना एउटै हुन्छ र ? अब अहिलेको स्थिति नै हेरूँ न, जब म चाहन्थेँ त्यस बेला साथीले चाहेनन्, अहिलेका साथीले चन्द्रमा मन पराउँछन् तर यहाँको स्थिति नै यस्तो छ। बन्धुत्वको जालभित्र म बुनिन सकिरहेकै छैनँ। पारिवारिक स्थिति टाट पल्टेरै म यो स्थितिमा आइपुगेकी हूँ। मेरा दुईजना छोराहरूको जिम्मेवारीले मलाई यहाँसम्म ल्याइपुर्‍यायो।

बिहेपछिका पाँच वर्ष त विमलसँग खुसीसाथ बिते। विमल बाबुआमाको एक्लो छोरो हुनुहुन्थ्यो। बाबुआमाले पुलपुल्याएर पालेकाले र सम्पत्ति प्रशस्त भएकाले पढ्नेलेख्‍ने आवश्यकता नठानेका उहाँसँग बिहे गर्दा त मैले आफ्नो यो दुर्गति होला भनेर सोचेकी थिइनँ। तर दुई छोरा जन्मेपछि विमल मबाट विस्तारै टाढिन थाल्नुभयो।

ए ! चन्द्रले बत्ती बाल्नुभएछ। बत्ती बालेपछि देखेँ अगाडिको भित्तामा मेरो बिहेको माला उदास-उदास झुन्डिरहेको छ। मैले यस मालालाई माया मार्नै सकिनँ। बिहेमा विमलले लगाइदिएको मेरो जिन्दगीको अमूल्य निधि हो। तर त्यसमा मैले हाम्रो फोटो राखिनँ, निकालेर फ्याँकिदिएँ। फोटो नभएको रित्तो माला यस घरमा भित्र्याउन मैले चन्द्रसँग विशेष अनुरोध गरेकी थिएँ। विमलले कुलतमा लागेर सबै सम्पत्ति सखाप पार्नुभयो र मलाई बिचल्लीमा पारेर कतै हराउनु भयो।उहाँको फोटो त्यहाँ राखिराख्‍नु भनेको घाउ दुखाइरहनु थियो। मालालाई चाहिँ मैले कसै गरे त्याग्न सकिनँ। विमलको लापरबाही जेजस्तो भए पनि त्यो माला हाम्रो संस्कारको चिनो थियो। आफ्नो संस्कारको अवहेलना गर्न मैले सकिनँ र सँगै त्यस मालालाई चन्द्रका घरमा लिएर आएँ।

दुई छोराहरूको र आफूलाई सम्हाल्दासम्हाल्दै समयको कुन मोडमा म यस गाउँमा डेरा बस्न आइपुगेँ मलाई हेक्का रहेन। एक दिन चन्द्रसँग परिचय भयो। हेर्दा उहाँ चालीस-पैँतालीसको जस्तो देखिए पनि उहाँ पैँसठ्ठी वर्षको भन्दा मलाई विश्वास गर्न गाह्रो भएको थियो।

चन्द्रसँग मेलजोल बढ्दै गयो। उहाँको सहयोगी र राम्रो व्यवहारले मैले आफूलाई केही सुरक्षित अनुभव गर्न थालेँ। लाग्यो भलामानिसहरू भएका ठाउँमा मैले डराउनुपर्दैन। दुई छोरा हरू पनि उहाँसँग राम्ररी झ्याम्मिन थाले। अचानक उहाँले एक दिन मसँग बिहेको प्रस्ताव राख्‍नुभयो। आफूले अभिभावक ठानेका व्यक्तिबाट त्यस्तो कुरो आउँदा मलाई सोचिनसक्नुको पी़डा भयो। केही दिन त केही सोच्नै सकिनँ। घरेलु कामकाजमा पनि हातखुट्टाहरू फतक्क गल्थे। सोच्थेँ – स्त्री भएर जन्मिनु नै अभिशाप रहेछ। पहिले एउटाले मनलाग्दो खेलाएर छाडेर गयो भने अहिले अर्काले खेलाउन खोज्दै छ। यस्तै मानसिक उथलपुथलले चारपाँच दिन अन्यौलमै बिते, त्यसपछि केही गम्भीर भएर सोचेँ। चन्द्रले उहाँसँग बिहे गरेदेखि दुई छोराहरूलाई राम्रो शिक्षा दिलाउने वाचा गर्नुभएको थियो। मलाई लाग्यो म बनीबुताले मेरा छोराहरूको मुखमा माड त लगाउन सक्छु तर मबाट उनीहरूको उच्च शिक्षा पूरा हुन सक्तैन। त्यसैले मैले आफूलाई भत्काएर छोराहरूको भविष्य निर्माण गर्नु छ। फेरि मजस्ती परित्यक्ता नारीलाई समाजका ब्वाँसाहरूले पनि दुःख दिने सम्भावना प्रशस्तै थियो। सयौँ ब्वाँसाहरूबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा चिथोरिनुभन्दा त बरू एउटा छहारीमै छिर्न उचित लाग्यो। त्यसैले मैले मेरा छोराहरूको भविष्य र सामाजिक सुरक्षाका लागि चन्द्रसँग बिहे गरेँ। मैले आफूलाई ब्याकमेल हुन दिएँ। मैले बेचेँ आफूलाई छोराहरूका निम्ति र आफ्नै निम्ति। अहिले मेरा छोराहरू यस विराटनगरको प्रतिष्ठित बोर्डिङ स्कुलमा होस्टलमा बसेर पढ्दै छन् र मेरो एउटा स्थान छ समाजमा। मैले आफूलाई छोराहरूको भविष्यमा र चन्द्रकी दोस्री श्रीमतीको रूपमा पाएकी छु।

चन्द्र फेरि हलचल गर्न लाग्नुभएछ। उफ् ! यो खाट फेरि बज्ने भयो …कट्…कट्…कट्…। लोग्ने मान्छेको स्वभाव पनि अचम्मकै हुन्छ, बुझ्नै नसकिने। पचास वर्षको आभासँगको वैवाहिक जीवन। हाम्रा लागि त पचास वर्ष भनेको पूरै जिन्दगी नै हो नि। किन मलाई उहाँले भित्र्याउनुभयो उहाँका पक्षबाट आफ्नै तर्कहरू होलान् तर मलाई यो कट्…कट्…. को कुनै अर्थ छैन। कट्… कट्…. कट्…। म फेरि अर्थहीन काममा अग्रसर हुन्छु।

Related Articles:


    Sanjaal.com is owned and maintained by Sanjaal Corps, Nepal. The company offers Web hosting and Domain Registration Services, IT Solutions and Business Analysis. Future plan includes Open Source Software Development Portal, Technical Solutions and Customizable Movie and Music Arena. We would be introducing data backup, data recovery, data hosting and voip solutions. Complete List of Sanjaal features is available at:
    http://corporate.sanjaal.com/features.php

    This Post Has Been Read For: 12 Times
    • Share/Bookmark
    « Older Entries